काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा उनले यसपटक पानी कम परेकोले आगलागीका घटना बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए ।
‘यस वर्ष हिउँदमा पानी कम परेको छ । आगलागीका घटना बढ्न सक्छन् । उपाए एउटा छ । जंगल वरपरका गाउँमा वडाबाठटै आगलागी नियन्त्रक समति गठन गरौं । उनीहरुलाई नै जिम्मेवारी दिउँ । स्थानीय नागरिकनै आगलागी नियन्त्रणका लागि पहिलो योद्धा हुन् भनेर उचित ट्रेनिङको व्यवस्थाको साथै तराईमा २० मिनेट र पहाडमा १ घण्टाभित्र पुग्नेगरि वरुणनियन्त्रकको व्यवस्था गरौं । सामूदायिक बन समितिको सक्रियतामा प्रहरी र सेनासमेतको सहयोगमा मद्दतको व्यवस्था मिलाउँ’ उनले भने ।
सांसद मिश्रले पछिल्लो पटक काठमाडौंस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गरे ।
‘अस्ती बबरमहलमा मेलम्चीको पानी छताछुल्ल भएको घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल, विद्युत आदीको काममा प्रहरी र नागरिक मिलेर समिति बनाउँ । आवश्यक काम सँगसँगै गर्नेगरि चाँजोपाँजो मिलाउँ । होइन भने एकतातिर सधैं सडकको दुर्दशा, अर्कोतिर खर्च ज्यादा र दुर्घटना पनि हुने हुन्छ । विचार गरौं’ उनले भने ।




प्रतिक्रिया