उपेन्द्रको दाबीः हाम्रो चट्टानी अडानको कारण सरकारले संसद्मा अध्यादेश प्रस्तुत गर्न सकेन


काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको चट्टानी अडानको कारण सरकारले अहिलेसम्म संसद्मा अध्यादेश पेस गर्न नसकेको दाबी गरेका छन् । आज (आइतबार) देखि सुरु भएको पार्टीको राजनीतिक प्रतिवेदनमा उनले यस्तो दावी गर्दै जनताले जसपा नेपाललाई अझै बढी विश्वास गर्न थालेको पनि बताएका छन् ।

‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन । सरकारले जारी गरेको अध्यादेशमा रहेको गलत नीति छ र प्रावधानविरुद्ध हामीले लिएको अडानको कारण आज देश र जनतामा जसपा नेपालप्रतिको विश्वास झनै बढेर गएको छ,’– उनले प्रतिवेदनमा भनेका छन् ।

नेपालको संविधानको धारा ११४ मा अध्यादेशको व्यवस्था रहेपनि वर्तमान सरकारले भने कुत्सित स्वार्थ तथा मानसिकतामा अध्यादेश ल्याएको उनको आरोप छ । ६ वटामध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको रहेको उनको दाबी छ । तराई÷मधेशको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्य राखेर अध्यादेश ल्याइएको उपेन्द्रको दाबी छ ।