देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु हुँदै, कर्मचारीले निम्तो गरेपछि शेखरले बहिष्कार गर्ने !


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू आज रुपन्देहीमा जाने भएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि भैरहवामा हुने प्रशिक्षणमा देउवासहितका नेताहरू जाने भएका हुन् ।

१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा लगायत नेताहरुलाई बोलाईएको भएपनि डा शेखर नजाने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका कर्मचारीले निम्तो दिएपछि डा शेखरले कार्यक्रम बहिष्कार गर्न लागेका हुन् । कोइराला आजै विराटनगर जाँदैछन्। उनी विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेका छन् । गत महिना पोखरामा भएको कार्यक्रममा निम्तो नै नदिईएपछि कोइराला रुष्ट छन् ।