विमलेन्द्र निधिको दाबी : कांग्रेस यो सरकार ढाल्ने खेलमा लागेको छैन


काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस अहिलेको सरकारको ढाल्ने खेलमा नलागेको र नलाग्ने विश्वास दिलाएका छन् । उनले अहिलेको कांग्रेस र एमाले सम्मिलित सरकारको कामबाट सन्तुष्टपनि नभएको टिप्पणी गरे । तर, असन्तुष्टि भयो भन्दैमा सरकार नै ढालिहाल्नुपर्छ भन्ने पक्षमा आफूहरु नभएको निधिको भनाई छ ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कांग्रेस सरकार ढाल्ने खेलमा नलागेको स्पष्ट पारे । उनले एमालेकै समर्थनमा आफ्नो सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने पालो आइरहेकोले सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने पनि बताए । उनले कांग्रेसभित्र पार्टी सभापति देउवाबाहेक अरुसँग संसदीय दलको नेता बन्ने संख्या नभएको ठोकुवा गरे । उनले एमालेसँग भएको ७ बुँदे सहमति पालना हुनेमा विश्वस्त रहेको बताए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार देउवालाई सत्ता हस्तान्तरण नगरे अहिलेको भन्दा पनि दुर्गति हुने भविष्यवाणी सुनाए । कांग्रेस र एमालेबीच भएको ७ बुँदे कार्यान्वयनको लागिपनि उनले दुवै दलका नेतृत्वहरुलाई जोड दिएका छन् ।