माओवादीलाई पूर्वराजासँग मिल्न खोज्यो भनेर आरोप लगाउनु आकाशतिर फर्किएर थुक्नुसरह होः सचिव पोखरेल (भिडिओसहित)


काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले आफूहरुलाई पूर्वराजासँग मिल्न खोज्यो भन्नु आकाशतिर फर्किएर थुक्नुसरह रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रका लागि बलिदानी गरेको दल माओवादीसँग मिल्छ भन्नु पत्याउन नसकिने कुरा रहेको बताएका हुन् ।

‘नेपालमा गणतन्त्रको नारा लगाउने, गणतन्त्र ल्याउनका निम्ति युद्ध गर्ने, आन्दोलन गर्ने दल माओवादी केन्द्र हो । जसले गणतन्त्रको निम्ति बलिदान गर्यो, उसैले राजसंस्थाको लागि उचाल्यो भन्नु आकाशमा थुकेसरह हो । पहिलो कुरा राजसंस्था नेपालमा अहिले छदै छैन । नेपाली जनताको संघर्षबाट फालिएको राजा फेरि आउने प्रयत्न गर्ने कुरा, उनीहरुले अलि–अलि टाउको उठाउने कोशिस त गरिराखेका छन् । तर, यस्तो इतिहास संसारमा कतै छैन । उल्टो इतिहास जाने सम्भावना छैन, इतिहास उल्टिँदैन । त्यसले उनीहरुकै पनि हितको कुरा गर्न सक्दैन,’– उनले भने ।

सत्तारुढ दल नेकपा (एमाले) ले पूर्वराजासँग उठबस बढाएको भनी माओवादी केन्द्रमाथि आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विभिन्न सार्वजनिक कार्यक्रमहरुमै माओवादीमाथि आरोप लगाउँदै आएका छन् ।