प्रधानमन्त्री ओलीले जनता झुक्याएको कांग्रेस नेता केसीको आरोप


काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभासदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता झुक्याएको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने कुरा जनता झुक्याउने काम रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कांग्रेस–एमालेबीच रहेको ७ बुँदे सहमतिविपरीत रहेको बताए । ‘२०८७ मा संविधान संशोधन गर्छौ भन्नु सोझै जनता झुक्याउने विषय हो । सरकार बनाउँदा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिविपरीत पनि छ,’– उनले भने ।

साथै, संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्ने उनको अडान छ । सत्तारुढ दलभित्र छलफल गरेर त्यसपछि संसदभित्र रहेका र संसद बाहिर रहेका दलहरुलाई पनि समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलपछि संविधान संशोधनको बारेमा निचोड निकाल्नुपर्ने उनले बताए ।

साथै, उनले वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको र पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको बताए । उनले सुशासन कायम नभएको र भ्रष्टाचार व्यप्त रहेको पनि टिप्पणी गरे ।