सुनचाँदीलाई मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही भएनः प्रचण्ड


काठमाडौं, २० फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई छुट्टै ऐन बनाएर व्यवस्थित गरिनुपर्ने बताएका हुन् ।

‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ । छुट्टै ऐनविना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैन । यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ । यो माग जायज छ,’– उनले भने ।

काठमाडौंमात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको उनले बताए ।

आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवद्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुले पनि आवाज उठाउन आवश्यक रहेको बताए ।