शिक्षक सेवा प्राथमिक तहको समावेशीतर्फ एक सय ६९ कोटा खाली गयो, उम्मेदवार सिफारिस हुनै सकेनन्


काठमाडौं, २० फागुन । शिक्षक सेवा आयोगले गत वैशाख १५ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि बागमतीको काठमाडौं र कर्णालीको हुम्लाबाहेक देशभरका ७५ जिल्लाबाट दरखास्त आह्वान गरेको थियो । कूल ५ हजार ४ सय ५३ पदमा खुलाइएको विज्ञापनमा खुल्लातर्फ ३ हजार ८, महिलामा ७ सय ८८, दलित महिला २०, मुस्लिम महिला २, आदिवासी जनजाती ६ सय ५६, मधेशी ५ सय ५०, दलित २ सय १७, अपाङ्गता १ सय २१ जना र पिछडिएको क्षेत्रमा ९१ जनाको कोटा छुट्याएको थियो ।

कूल रिक्त पदमध्ये ५५ प्रतिशत खुल्ला र बाँकी ४५ प्रतिशत आरक्षणका लागि छुट्याउनुपर्ने कानुनी प्रावधान रहेको छ । ४५ प्रतिशतलाई शतप्रतिशत मानेर महिला ३३ प्रतिशत, जनजाती २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपाङग्ता ५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत आरक्षणको व्यवस्था रहेको छ । आयोगले आह्वान गरेको विज्ञापनमा १ लाखभन्दा धेरैले फारम भरेकोमा ८७ हजार १ सय ५८ जना प्रथम पत्रको परिक्षामा सामेल भएका थिए । पहिलो पत्रमा २० हजार ५ सय ४२ जनामात्रै उत्तीर्ण भएका थिए ।

आयोगले कूल ५ हजार ४ सय ५३ जना शिक्षकहरुको लागि आवेदन खुलाएपनि ५ हजार २ सय ८४ जनामात्रै सिफारिस भएका छन् । आरक्षण कोटामा उम्मेदवारहरु सिफारिस हुन नसक्दा यस वर्ष १६९ पदपूर्ति नभएको हो । यसमध्ये सबैभन्दा धेरै मधेशी कोटा रिक्त गएको छ । मधेशी कोटामा ५ सय ५० जना माग भएकोमा १ सय ३० जना उम्मेदवार सिफारिस हुनै सकेनन् । उम्मेदवार सिफारिस हुन नसक्दा अपाङ्ग, आदिवासी जनजाति, दलित, दलित महिला, मुस्लिम महिला, पिछडिएको क्षेत्रलगायतको कोटा खाली गएको छ ।