उपेन्द्र यादव यो सरकारको हिस्सा बन्नुहुन्छ भने अनौठो मान्न हुँदैन, अध्यादेशमा सौदाबाजी भएको छैन : महेश बर्तौला


काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालपनि सत्ता गठबन्धनमा रहेको दल भएकोले सरकारको पनि हिस्सा बन्दा अनौठो मान्न नहुने बताएका छन् । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन ।

उनले भने,‘अहिलेको संसद्को गणित हेर्नुहुन्छ भने एक दलको बहुमत छैन् । दुई वा सोभन्दा बढि दललाई साथमा लिएर अघि बढ्नुपर्ने आजको रियालिटी हो । सत्ता गठबन्धनमा रहेको दलले सरकारमै बसेर काम गर्ने अवस्था निर्माण भयो भने यसलाई स्वभाविक मान्नुपर्छ । तर, अहिले भर्खरै अध्यादेशको विषयसँग सरकारको सौदावाजी भएको अथवा यस प्रकारको परिस्थिति विकास भएको छैन् । यो कोणबाट छलफल पनि भएको छैन् ।’

उनले सरकारले विभिन्न समस्या समाधानको लागि नै अध्यादेश जारी गरेकोले यसको लागि विपक्षी दलहरुले पनि सरकारलाई धन्यवाद नै भन्नुपर्ने सुझाए ।