सरकारलाई रास्वपाको चेतावनीः खबरदार ! एउटा कुलमान लखेट्यौ भने…..


काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरिरहेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले एउटा कुलमानलाई हटाइएको खण्डमा हजारौं कुलमान लिएर सरकारको विरुद्धमा उत्रिने चेतावनी दिएका हुन् । उनले भने, ‘खबरदार भन्न चाहन्छौं– एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौं कुलमान लिएर आउने छौं ।’

प्राधिकरणका एमडी घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा सरकारले शून्य अंक नम्बर दिएको विषय अहिले चर्चामा छ । मन्त्रिरिषद्को निर्णयबाटै कुलमानलाई हटाउने सरकारको तयारी रहेको पनि गाइँगुइँ चलिरहेको छ ।

साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन् । श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधानलगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ३ वर्षसम्म पाउनुपर्ने सेवा सुविधावापतको रकम नदिएको बताए । उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए । उनीहरुले पाउनुपर्ने सेवासु्विधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए ।