अध्यादेश अस्वीकृतको प्रस्ताव पेश गर्दै विपक्षी दलले भने- सदनको अपमान भयो, स्वीकार गर्न सक्दैनौं


काठमाडौं । प्रतिनिधि सभा बैठकमा अध्यादेश अस्वीकृतको प्रस्ताव पेश गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकृत गरिओस् भन्ने प्रस्ताव पेश गरेका छन् । उनले प्रस्ताव पेश गर्दै अध्यादेशले सिंगो संसद्को अपमान गरेको हुँदा आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

‘अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार हो । तर, यी अध्यादेशको विषयवस्तुमा नै गम्भीर असर पर्ने कुराहरु छन् । सदन रोकेर अध्यादेश ल्याईएको छ । जसले सदनको अपमान गरेको छ । यी अध्यादेश स्वीकार गर्न सक्दैनौं’ जोशीले भने ।

जोशीले राखेको अध्यादेश अस्वीकृतको प्रस्तावमाथि माओवादी केन्द्रका सांसद हितराज पाण्डे, रास्वपा सांसद शिशिर खनाल लगायतले समर्थन जनाएका छन् । पाण्डेले सरकारले सदनको अवमूल्यंन हुनेगरि अध्यादेश ल्याएको हुँदा विपक्षी दलले एक भएर प्रतिवाद गर्ने निर्णय भएको सुनाए ।

‘अध्यादेश अस्वीकार गरियोस् यसका लागि सबै सदनसमक्ष सभामुखमार्फत माग गर्दछु। यो किन माग गर्छु भने संसद्को बैठक बोलाउन सकिने वातावरण हुँदा हुँदै अध्यादेश ल्याउनु आपत्तिजनक छ,’ उनले भने, ‘कानुन विधेयकको रुपमा अर्थ समितिमा पेस गरेकै छ। फिर्ता पनि लिइएको छैन। जसरी अध्यादेश ल्याएको छ सरकारले सदनलाई अपमान गरेको छ।’