सरकारले ‘म ज्यूँदै छु’ भन्ने जनाऊ दिन अध्यादेश ल्यायो: स्वर्णिम वाग्ले


काठमाडौं । रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले सरकारले काम गर्न नसकेर आलोचना भइरहेको बेला आलोचना छल्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१ लाई अस्वीकृत गरिओस् भन्ने प्रस्ताव पेश गर्दै डा वाग्लेले सरकारले म ज्यूदै छु भन्ने जनाउ दिनमात्र अध्यादेश ल्याएको आरोप लगाए ।

‘६ वटा अध्यादेशमध्ये एउटा यहाँहरुले संख्या पुगेन भनेर रोक्नु भयो । चार वटा कोकोलाई देखाएर गोजीबाट यहाँ प्रस्तुत गर्नुभयो । तर, यो अहिले छलफलमा रहेको अध्यादेश प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा विचाराधीन रहेको थियो । हामी सबैले बनाएको प्रतिनिधि सभा नियमावलीको नियम १२२ (२) को खिलाफमा गएर प्रक्रियालाई मिचेर मिनि संसद् भनिने संसदीय समितिको गरिमालाई न्याँकेर यहाँ प्रस्तुत गरिएको छ । हाम्रो गम्भीर आपत्ति छ’ उनले भने ।

सांसद वाग्लेले सरकारले जस लिने होडमा लागेर प्रक्रिया मिचेर,वैधता नाधेर अध्यादेश ल्याएको बताए । ‘जस लिने होडमा रहेको सरकारले कुनै पनि काम उल्लेख्य गर्न नसकिरहेको अवस्थामा म ज्यूँदै छु है भन्ने देखाउन अध्यादेश ल्याएको छ । वैधताको हिसावले पनि गलत छ । माघ ४ गते अध्यादेश सार्वजनिक हुन्छ । ८ गते राष्ट्रपतिबाट संसद बोलाईन्छ । १८ गते संसद सुरु हुन्छ । तर, आज बल्ल फागुन २१ मा प्रस्तुत गरिँदैछ । अध्यादेशबाट शासन गर्न खोजेको बदनामी र कलंक बोक्दै गर्दा पनि अध्यादेश पास गर्ने क्षमता रहेनछ’ उनले भने ।