राष्ट्रपतिबाट प्रा.डा.उपाध्याय र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी पुरस्कृत


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । सोमवार शीतलनिवासमा सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे । समाजलाई सम्मुन्नत बनाउने दायित्व सबैको भएको उनको धारणा छ । दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको उनले बताए ।

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार महेन्द्र (हाल नेपाल) संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.विद्यानाथ उपाध्याय र भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रदान गरिएको थियो । न्याय विषय ९संस्कृत० का निष्णात विद्वान् उपाध्यायले तन्त्रदर्शनसम्बन्धी धेरैवटा कृति लेखेका छन् ।

कार्यक्रममा राष्ट्रपति, उनकी श्रीमती सविता पौडेल, पूर्व मन्त्री रामचन्द्र अधिकारी, रामबहादुर गुरुङ, भीष्मनाथ अधिकारी, शंकरप्रसाद पाण्डे, पूर्व मुख्यसचिव विमल कोइराला, पूर्व सचिव एवं पूर्व राजदुत अर्जुनबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, राष्ट्रसेवकहरू, साहित्यकार डा.नवराज लम्सालसहित नेपाली कला साहित्य डट कम प्रतिष्ठानका पदाधिकारी, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, डा.गोविन्द नेपाल, राइनासका नगरप्रमुख, पुरस्कारको अक्षयकोष स्थापना गरिदिने स्व.नरकान्त अधिकारी र स्व.भैरवप्रसाद उपाध्यायका परिवारजन, योगक्षेत्रका साधकलगायत सर्वोदय सेवाश्रमका प्रतिनिधिगण, पुरस्कारबाट सम्मानित हुनुहुने व्यक्तित्वका परिवार आफन्तजन र अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पुरस्कारबाट सम्मानित हुनेहरूले आफ्नो अनुभव र योगदानबारे मन्तव्य दिएका थिए– जसले उपस्थित सबैलाई प्रेरित गरेको थियो ।

प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिले सम्मानित व्यक्तित्वलाई बधाईका साथै पुरस्कार स्थापना गर्नुहुने र व्यवस्थापन गर्नुहुने सर्बलाई धन्यवाद दिएका थिए । उनले भने– ‘कार्यक्रमले नेपाली समाजमा योग र सदाचारको महत्त्वलाई पुनःस्थापना गर्न मद्दत पु¥याएको छ र आगामी पुस्तालाई पनि यी मूल्यको पालन गर्न प्रेरित गरेको छ ।’

कार्यक्रम सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको थियो । स्वागत उपाध्यक्ष शुकदेव रिसाल तथा संस्थाको परिचय र व्यक्तित्ब परिचय सदस्य इन्दिरा अधिकारीले गरेका थिए भने कार्यक्रम सञ्चालन मणि लोहनीले गरेका थिए । सर्वोदय सेवाश्रम लमजुङको राइनास–८ हर्राबोट धर्मनाथमा रहेको छ । यसले योग शिक्षा, छात्रवृत्ति, स्वस्थ्य सचेतना, सामाजिक जागरण, प्रकृति संरक्षण र मानवीय सेवामा जेष्ठ नागरिक आश्रम सञ्चालन गरिरहेको छ ।