प्रश्न सोधेकै आधारमा कारबाही गर्ने कुरामा हामी सहमत छैनौंः कांग्रेस नेता घिमिरे


काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै भरमा कारबाही गर्ने कुरामा आफूहरु सहमत नरहेको बताएका छन् । आज (बुधबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले प्रश्न सोधेकै आधारमा सञ्चारकर्मीहरुको प्रेस पास निलम्बन गर्ने निर्णय गरिएको रहेछ भने त्यो निर्णय खारेज गर्न पहल गरिने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् भवन परिसरमा प्रश्न गरेको आधारमा आज दुई जना पत्रकारको प्रेस पास निलम्बन गरिएको थियो । उक्त विषयमा संसद्मा समेत सांसदहरुले प्रश्न उठाइसकेका छन् ।

‘कसैलाई प्रश्न सोधेकै आधारमा कारबाही गर्ने भन्ने कुरामा हामी सहमत छैनौं । त्यो आधारमा कारबाही गरिएको हो भने यो विषयमा संसद् सचिवालयसँग छलफल गरेर फिर्ता गर्नेतर्फ हामी लाग्छौं । कांग्रेस प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ,’– नेता घिमिरेले भने ।