स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीसमक्ष सांसद सिंहको आग्रह


काठमाडौं, २२ फागुन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठलाई नगरेर जुनियरलाई बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले मन्त्रालयकी वरिष्ठ डा. संगिता मिश्रलाई नबनाईए जुनियरलाई बनाईएको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले संगिता मिश्र मधेशी भएकै कारण अन्याय गरिएको आरोप लगाएका हुन् ।

उनले भने,‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन् । संगिता मिश्र मधेशी समूदायको एउटा आस्थाको केन्द्र थियो, महिलाहरुको आस्थाको केन्द्रको प्रतिक थियो । जसरी कुलमानजीलाई बारम्बार जनजाति भनेर होच्याउने काम भैराखेको छ, त्योपनि नागरिक समाजको विश्वासको प्रतिक हो । सरकारप्रति विश्वास कसैको छैन् । सरकार आँफै जनतामा गएर बुझे हुन्छ ।’

संगिता मिश्र मधेशी भएकै कारण अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वास्थ्यमन्त्री पौडेललाई बर्खास्त गर्न सुझाव दिए । उनले भने,‘स्वास्थ्यमन्त्री त मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कोही मधेशी रहँदैन भन्नुभएको छ, कुनै जनजाति र दलित हुँदैन भन्नुभएको छ ।’

उनले कांग्रेस र एमालेले प्रतिगमानकारीसँग मिलेर मधेशी, जनजातिको अधिकार खोस्न लागेको आरोप लगाए । उनले हिजोपनि कांग्रेस र एमालेले बहुदल खाएको भन्दै अब गणतन्त्र नखाउन् भन्ने धारणा राखे ।