हिटलर भनेर प्रश्न सोध्दैमा पत्रकारको पास खोसेकोमा चन्द्र भण्डारीको आपत्ति


काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले प्रश्न सोध्दैमा पत्रकारको परिचयपत्र खोस्नु गलत भएको भन्दै आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले प्रश्न सोध्दैमा पत्रकारको अधिकार हनन हुनेगरि पत्रकार परिचयपत्र रद्द गर्न नहुने धारणा राखेका हुन् । हालै संघीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास एक महिनाको लागि निलम्बनमा राखेको विषयमा सांसद भण्डारीले सदनमा कुरा उठाएका हुन् ।

उनले भने,‘शब्दको खेल शब्दले बुझेको हुन्छ, यदि कसैले मलाई हिटलर भन्यो भने म भन्ने थिएँ, म हिंस्रक हिटलर होईन । म इच्छाशक्ति भएको हिटलर बनाउने लोभ छ, मलाई मुलुक बनाउने लोभ छ भन्ने थिएँ । कसैले मलाई तानाशाही भन्यो भने मेरो जवाफ हुने थियो–मैले ल्याएको अधिकार हातखुट्टा हल्लाउने हो, नाकमा हान्ने होईन । त्यो नाकमा हान्ने कुरा म रोक्छु भनेर मैले भन्ने थिएँ । विदेशीसँग डलर ल्यएर नेपालको समाज र संस्कृति ध्वस्त बनाउने कुरालाई रोक्ने म तानाशाही हुँ भन्ने थिएँ । तसर्थ, कसैले प्रश्न सोध्यो भन्दैमा पत्रकारको अधिकारको कार्ड रद्द गरेर उसको अधिकार हनन गर्नुहुँदैन भन्न चाहन्छु ।’