दुई तिहाइको सरकारले एउटा कुलमानलाई खेद्नेबाहेक अरु काम गरेको छैनः माओवादी नेता पाण्डे


काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई खेद्नु लगत रहेको बताएका छन् । आज (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम संवाद कार्यक्रममा बोल्दै उनले दुई तिहाइको सरकारले एउटा व्यक्तिमाथि प्रतिशोध साँधेर व्यवहार गरिरहेको बताएका हुन् । उनले जनताको नजरबाट र कार्यगत रुपमा कुलमान सही रहेको उनको दाबी छ ।

‘जसरी उहाँलाई खेद्ने कुरा भएको छ, त्यो गलत भएको छ । अहिले वायु सेवा निगमको कुरा गर्नुस्, उदयपुर सिमेन्ट उद्योगको कुरा गर्नुस् । जुन सार्वजनिक संस्थानहरु गएका छन्, तिनको तिर लिएर गएर उकास्ने के गरी होला भनेर लैजानुपर्ने ठाउँमा अब जहाँ नाफामा छ, विषय वस्तु अगाडि बढिरहेको छ । स्पष्टीकरण कति पटक गयो ? दुई तिहाइको सरकार एउटा व्यक्तिलाई, त्यो पनि जनताको नजरमा तथ्यबाट आइरहेको छ । नाफा गरेको कुरा सत्य होईन, ऋण तिरेको, डेडिकेटडमा असुल गर्न खोजेको कुरा सत्य होईन,’– उनले भने ।

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले प्रतिनिधि सभामा प्राधिकरणका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा प्राधिकरणका एमडी घिसिङमाथि विविध प्रकारको प्रश्न उठेका थिए । मन्त्रिपरिषद्ले समेत प्राधिकरणका एमडी घिसिङलाई चार बुँदे स्पष्टीकरण माग गरिसकेको छ । अहिलेसम्म सरकारले कुलमानलाई ५÷६ पटक स्पष्टीकरण सोधिसकेको छ ।

नेता पाण्डेले दुई तिहाइको सरकारले प्राधिकरणका कार्यकारी निर्देशक एमडी घिसिङलाई खेद्नेबाहेक अर्को काम नगरेको उनको टिप्पणी छ । सरकारले कुलमानमाथि शृङ्खलावद्ध रुपमा खेदिरहेको उनले बताए । साथै, उर्जमन्त्री खड्काले प्राधिकरणको सन्दर्भमा आफूहरुले उठाएको प्रश्नको जवाफ नै झुठो दिएको उनले बताए ।