काठमाडौं, २३ फागुन । मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपालमा फेरि राजसंस्था पुनर्स्थापनाको सम्भावना नै नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनआन्दोलनको माध्यमबाट संविधान सभाले विधिवत रुपमा राजासंस्थाको दाहासंस्कार गरिसकेको बताए । उनले दाहासंस्कार भइसकेको शरीर पुनः फर्किएर आएमा यो संसारमै प्रथम आश्चर्य हुने पनि टिप्पणी गरे ।
‘एक पटक दाहाुसंस्कार गरिसकेपछि शरीर फर्किर आएको कसैले पनि देखेको छैन । एक पटक राजतन्त्रको दाहासंस्कार भइसक्यो । जनआन्दोलनको माध्यमबाट संविधान सभाले विधिवत रुपमा दाहासंस्कार गर्यो । त्यो दाहासंस्कार गरेको राजतन्त्र फर्किएर आयो भने संसारमा पहिलो आश्चर्य हुन्छ । यो सम्भव नै नभएको कुरा हो । अधोगमनतिरको यात्रा हो । कोही बहुलाएर नाङ्गै हिँड्छ भने के भन्न सकिन्छ र ?’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाका कमीकमजोरी रहेपछि अब लोकतन्त्रको अपमान हुनेगरी नेपाली नागरिकलाई दास तन्त्र, तानाशाहीतन्त्र तिर फर्काउन नसकिने उनको भनाइ छ । उनले राजतन्त्रलाई कुहिएको व्यवस्थाको संज्ञा दिए । पूर्वराजा ज्ञानेन्द्र पनि बहुलाइसकेको उनको दाबी छ । File Photo/RN




प्रतिक्रिया