मन्त्रिपरिषद्को १९ निर्णयः नियुक्ति, बढुवा र मन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म (पूर्णपाठसहित)


काठमाडौं, २३ फागुन । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । आज (शुक्रबार) सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले चालु आर्थिक वर्ष २०८१र०८२ का लागि चैते धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले आगामी चैत्र २६ र २७ मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई स्वीकृत प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा पूर्व कानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्ले वन तथा वातावरणमन्त्री ऐनबहादुर ठकुरीलाई आगामी फागुन २९ मा बेलायतको लण्डनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।