बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रिजालको निधन


कञ्चनपुर, फागुन २४ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ। केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२ः३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । उनको आज दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिएका रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित भएका थिए । २०४१ सालतिर उनी परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सरेका थिए।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर झिनो मतान्तरले पराजित भएका थिए । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।