काठमाडौं, २४ फागुन । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले संविधानले व्यवस्था गरेअनुसार प्रदेश सरकारलाई अधिकार नदिइदा प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीयता कागजीमात्रै हुँदा प्रदेशहरुले काम गर्न नसकेको बताएका हुन् ।
‘संघीय सरकारले प्रदेश सरकारलाई हेपेको जुन प्रवृत्ति छ, त्यो पहिला हटाउनुपर्छ । जबसम्म शासन, प्रहरी प्रशासन प्रदेश सरकारलाई सुम्पिइँदैन, तबसम्म भनेको जसरी काम गर्न सकिँदैन । संघीयता काजमा मात्रै दिइएको छ । जबसम्म अधिकार सम्पन्न संघीयता दिइएको छैन,’– उनले भने ।
अहिले सात वर्षदेखि संघीयता कार्यान्वयन गर्न नदिइएको, समावेशी समानुपातिक व्यवस्थालाई सही तरिकाले सञ्चालन गर्न नदिइएको र जहिले पनि खसवादी विचार धाराको कारण संघीयता धरापमा परेको उनले बताए । आफ्नै व्यबहारले संघीयता धरापमा पारेर अहिले राजालाई दोष लगाउन नमिल्ने उनले बताए । साथै, उनले संघीयताको विरोध नगर्न राप्रपालाई चेतावनी दिए । उनले संघीयताको खिलाफमा कोही आए मधेश उठ्ने बताए ।
‘संघीयताको खिलाफमा जुनसुकै अवस्थामा जो–कोही आयो भने फेरि मधेश उठ्छ । राप्रपा के हो ? राजेन्द्र लिङ्देन को हो ? प्रदेशमा सभामुख चलाएर बसेको छ, मन्त्री खाएर बसेको छ । किन खाएको संघीयताको विरोध गर्ने मान्छेले,’– उनले भने ।
साथै, मधेश प्रदेशका अहिले संयुक्त सरकार रहेको उनले स्मरण गराए । उनले जनमत नेतृत्वको सरकारले काम गर्न सकेन भन्नु सही नरहेको बताए । File Photo/RN




प्रतिक्रिया