ज्ञानेन्द्रलाई प्रचण्डको सुझावः राजा बन्ने सपना देखेर रहेको पनि सखाप पार्ने गल्ती नगर्दा राम्रो


काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पनि राजा बन्ने सपना देखेर मुर्खता नगर्न ज्ञानेन्द्रलाई सुझाव दिएका छन् । आज (शनिबार) जनतासँग माओवादी, तराई(मधेस जागरण अभियानको क्रममा रौतहटमा रहेका प्रचण्डले ज्ञानेन्द्रले पहिला पनि ठूल्ठूला गल्ती गरेको र अब फेरि सोही गल्ती नदोर्याउँदा नै राम्रो हुने बताएका हुन् । ‘मैले त ज्ञानेन्द्रले मुर्खता नै गरेको देख्छु । अब फेरि अर्को मुर्खता गरेर आफ्नो रहेको पनि सबै सखाप पार्ने गल्ती नगरून् भन्ने म चाहन्छु,’– प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले अब इतिहासको चक्का पछाडि फर्काउन सम्भव नरहेको बताए । उनले यदि राजालाई राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिए । नेपाली जनताले त्यतिबेला ज्ञानेन्द्रलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको उदारतालाई कमजोरी सम्झिन नहुने प्रचण्डको भनाइ छ । उनले भने, ‘राजनीति गर्न खोजेको हो भने उहाँ पर्टी खोलेर चुनाव लड्न आए हुन्छ, चुनाव जिते हुन्छ । जबरजस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सह्य हुँदैन ।’