काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूसँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्रको अन्तिम गन्तव्य राजा रहेको बताएको खुलासा गरेका छन् । हिजो (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता शेखरले आफूले ज्ञानेन्द्रलाई अहिले पनि राजा नै भन्ने गरेको बताएका थिए । तर, नेपालमा अब राजतन्त्र वा राजसंस्थाको कुनै गुञ्जायस नरहेको उनको भनाइ थियो ।
सोही प्रसंग उल्लेख गर्दै राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरुले पूर्वराजा भन्छन्, तर म राजा नै भन्छु ।’
शेखर कोइरालाको आजको यो भनाइपछि मैले ०२ असार, २०८० मा उहाँसँग भेटेको र उहाँकै अनुमतिमा सार्वजनिक गरेको तलको सन्देश÷संवाद याद आयो ।
कांग्रेस नेता डा.शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयोः ‘म राजाुलाई कहिल्यै पूर्व राजा भन्दिन नि। मैले त भन्ने गरेको छु, हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् । ती हुन् ‘राजा ।’
मैले सोधेँ, ‘तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु ?’ उहाँले भन्नुभयो, ‘किन नसक्नु ? मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो।’




प्रतिक्रिया