काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले ठूलो दल भएरपनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको र अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै बनेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले दुई वर्ष बितिसक्दापनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको भन्दै आक्रोश पोखे । उनले सरकार चलाउनको लागि राजनीतिक संयन्त्र बनाउनु भनेको कांग्रेसले आफ्नो राजनीतिक धारलाई समाप्त पार्नु भएको बताए ।
कोइरालाले भने,‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ । यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक । त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’
कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी दोहोर्याए । उनले भने,‘अहिले हामी सत्तापक्ष हौं, तर सरकारमा छैनौं । भोलि हाम्रो प्रतिस्पर्धी एमाले नै हो । त्यसैले सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहुन्छ ।’
उनले कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरुले गलत कुरालाई गलत भन्न सक्नुपर्ने सुझाए । उनले नेपाल बनाउन सकिने विश्वास दिलाए । उनले त्यसको लागि क्लिन इनर्जीको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र गुटबन्दी अति नै भएको भन्दै विरोध जनाए । तर, कार्यकर्ताहरुलाई आफूले अन्याय हुन नदिने कोइरालाको विश्वास दिलाए । १५औं महाधिवेशन समयमै सम्पन्न गर्नको लागि सबैले नेतृत्वसमक्ष दबाब सिर्जना गर्नुपर्ने भन्दै त्यसको लागि सोसल मिडियामार्फत दबाब दिन पनि उनले सुझाव दिए ।




प्रतिक्रिया