प्रभु साहले ओली सरकारलाई लुटेराको संज्ञा दिए, विद्या भण्डारी र आरजु राणाको प्रशंसा


काठमाडौं, २४ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले दलाल दलतन्त्र र नेताहरुको लुटतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यकत्ता औंल्याएका छन् । जनताको सर्वोच्चतासहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन निर्णायक बनाउन जनता सडकमा आउनुपर्ने साहको भनाई छ ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज (शनिबार) काठमाडौंको अनामनगरमा आयोजित आजपानिकट आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै साहले लोकतन्त्रको नाममा अहिलेको सरकारले लुट मच्चाएको गम्भीर आरोप लगाएका हुन् ।

उनले अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको बिरोध भईरहेको निश्कर्ष सुनाए । जनताको लोकतन्त्रकका लागि निर्णायक आन्दोलनमा जनता आउनुको विकल्प नभएको पनि साहको भनाई छ ।

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरुले लुट मच्चाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो लुटेरा सरकारको बिरोधमा नागरिक सडकमा आउनुको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन म सबैमा आह्वान गर्छु । अब जनताले नै हो लोकतन्त्रक जोगाउने, अरु कसैले सक्दैन् ।’

२४ चैतमा आजपाले काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी करबिरुद्ध बृहत प्रदर्शन र जनसभा गर्न लागेको पनि साहले सुनाए । तेस्रो जनआन्दोलनको पूर्वसन्ध्यामा हुन लागेको सो कार्यक्रममा व्यापक जनसहभागिता हुने उनको भनाई छ ।

कार्यक्रममा आजपा अध्यक्ष साहले महिला नेतृहरु शैलेजा आचार्य, साहना प्रधान, योगमाया न्यौपाने, मंगलादेवीलगायतको नामै लिएर उनीहरुले आफ्नो समयमा राम्रो र उदाहरणीय काम गरेकोमा उच्च सम्मान एवं प्रशंसा समेत गरे । ‘यो धर्तीमा महिलाले नेतृत्व पाए अरुभन्दा राम्रो काम गरेर देखाउन सक्छन् । माता सीता, गढीमाई, भृकुटीको यो धर्तीमा महिलाहरुसंग विभेद हुनुमा सरकार जिम्मेवार रहेको छ’ उनले भने ।

अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार र विभिन्न काण्डमा लागेर देश र जनताको चाहना पूरा गर्न नसकेको आरोप साहले लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भएपनि संविधानको बारम्बार उल्लंघन गरेको साहको आरोप छ । संविधानअनुसार ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाले अधिकार र सहभागिता पाउनुपर्ने भएपनि संविधान अनुसार कार्यान्वयन नगरी सरकारले उल्लंघन गरेको उनको आरोप थियो ।

‘अहिलेको मन्त्रिपरिषददेखी राजनीतिक नियुक्ति, राजदुत नियुक्ति, सहित सरकारद्धारा हुने बिभिन्न नियुक्तिमा सरकारले संविधानको उल्लंघन गरेको छ । हालै सचिवमा बढुवा हुनुपर्ने एक नम्बरमा रहेकी महिलालाई स्वास्थ्य मन्त्रालयमा सचिव बनाईएन । ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाको सहभागिता हुनपर्ने भएपनि त्यो कार्यान्वयन सरकारले गरेको छैन्’, आजपा अध्यक्ष साहले भने, ‘५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाको सहभागिता संविधानमा ३३ प्रतिशत भनेर राखे । यो आफैंमा अन्याय हो, म संविधानसभाको सदस्य थिएँ, अन्याय भयो भनेर मैले विरोध पनि गरेको थिएँ । तर ५१ प्रतिशत दिनुपर्नेमा अहिले सरकारले ३३ प्रतिशत समेत अधिकार दिएको छैन् ।’

सरकारकै कारण अहिले मुलुकमा आर्थिक संकट आएको उनले बताए । दलतन्त्रका कारण मुलक दलदलमा फस्दै गईरहेको बताउदै उनले नेताहरु भ्रष्टाचारमा लागेकाले मुलुक समृद्ध हुन नसकेको बताए । युवाहरु देशबाट पलायन भईरहेको बताउदै उनले नेपाललाई समृद्ध बनाउँन सकिने सबैथोक रहेको बताए । तर त्यसका लागि नेता ईमानदार हुनुपर्ने साहको भनाई रहेको छ । मौलापुर नगरपालिकामा हरेक किसिमको कर फ्रि रहेको बताउदै उनले नेपाललाई समेत समृद्ध बनाउन सकिने बताए ।

प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गर्दै उनले ओली र देउवाभन्दा पुर्वराष्ट्रपती विद्यादेवी भण्डारी र अहिलेकी परराष्ट्रमन्त्री आरजु राणा सफल भएको बताए । ओली र देउवाको आलोचना गर्दै उनले भण्डारी र आरजुको भने कामको प्रशंसा गरे ।

‘देश र जनताको नेतृत्व गर्नसक्ने एक सफल महिला नेतृत्व हो विद्या भण्डारी । पुर्वराष्ट्रपती बिद्या भण्डारी केपी शर्मा ओलीभन्दा राम्रोसँग देशको शासन सत्ता, पार्टीको नेतृत्व गर्नसक्ने सफल महिला हो’, आजपा अध्यक्ष साहले भने, ‘अहिले तपाईं हेर्दै हुनुहुन्छ, परराष्ट्रमन्त्री आरजु राणा नेपालको विदैशिक सम्बन्ध सुमधुर बनाउन लाग्नुभएको छ । उहाँ शेरबहादुर देउवाभन्दा राम्रोसंग देश र पार्टीको नेतृत्व गर्न सक्ने सफल महिला नेता हुनुहुन्छ । मलाई उहाँको नेतृत्वदायी क्षमताप्रति विश्वास छ।’

ओली जहाँ जादा पनि बिरोध र आलोचना भैइरहेको बताउदै उनले ओली अहिले देश त परै जाओस आफ्नै पार्टीसमेत सञ्चालन गर्न असफल भैसकेको दाबी गरे । उनले कां्रग्रेस सभापति देउवाबाट समेत पार्टी वा सरकार सञ्चालन राम्रोसँग हुन नसक्ने बताउदै उनले महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सञ्चालन गर्न सक्ने बताए ।

आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरु श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरु डा. हेमप्रसाद साह, सिमा जैसवाल, मिना देवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको विशेष सहभागिता रहेको कार्यक्रमका सञ्चालन एवं आम महिला मोर्चा बागमती प्रदेशका अध्यक्ष ममता साहले जनाएकी छन् ।

सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनाएको छ । यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत सोही भेलाबाट घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धनकुमारी मगरले जनाएकी छन् ।