लुम्बिनीका तीन रंगशालामा प्रधानमन्त्री कप क्रिकेट सुरूः एपीएफ, लुम्बिनी र कर्णाली ब्याटिङमा


काठमाडौं । आजबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा आज तीन वटा खेल भइरहेको छ । आजबाट लुम्बिनीका तीन रंगशालमा चलिरहेको खेलमा सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा पहिलो खेल चलिरहेको छ ।

पहिलो दिन आज सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश भिडिरहेका छन् । टस जितेर पहिले ब्याटिङ थालेको लुम्बिनीले ३० ओभरमा ४ विकेट गुमाएर ११५रन जोडेको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब खेलीरहेका छन् । एपीएफले टस हारेर ब्याटिङ गरिरहेको छ । उसले २४ ओभरमा ४ विकेट गुमाएर १११ रन जोडेको छ ।

यता लमही क्रिकेट मैदानमा जारी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिचका खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ४ विकेट गुमाएर ३५ रन जोडेको छ ।

प्रतियोगिताको दोस्रो दिन भोलि पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन्। जसमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेक मैदानमा १५ तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४ खेल हुनेछन्। फाइनल खेल भने सिद्धार्थ रंगशालामा हुने जनाइएको छ।

प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन्। खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन्।