भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप (भिडिओसहित)


काठमाडौं, २५ फागुन । नेपाली कांग्रेस सर्लाही जिल्लाका उपसभापति नवीन अधिकारीले सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरिसकेका सुरेन्द्रप्रसाद सिंहलाई पार्टी विधानअनुसार जिल्ला सभापति मान्न नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर भइसकेको पछि सुरेन्द्र स्वतः पार्टी सदस्य पनि नरहने बताएका हुन् । २०८० फागुनमै सर्वोच्चले सुरेन्द्रलाई दोषी ठहर गरेर पनि अझै पनि उनी सार्वजनिक कार्यक्रममा सभापतिकै हैसियतमा उपस्थित हुने गरेको बताए । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका शीर्ष नेतालाई जानकारी गराउँदा पनि पदबाट बर्खास्त नगरिएको भन्दै उनले गुनासो पोखे । आफूहरुको चाहना पार्टीको विधान लागू होस् भन्नेमात्रै रहेको उनले बताए ।

‘हाम्रो पार्टी सभापति सुरेन्द्रप्रसाद सिंहज्यू, उहाँलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा २०८० साल फागुन १५ गते दोषी ठहर गर्यो । कांग्रेसको विधानले के भन्छ भने, जुनसुकै व्यक्ति अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको साधरण सदस्य पनि नरहने भनेर हाम्रो पार्टीको विधानको परिच्छेद २ धारा १३ (ङ) बमोजिम व्यवस्था गरेको छ । त्यो व्यवस्थाअनसार उहाँ २०८० साल फागुन १५ गतेदेखि पार्टीको साधारण सदस्य नै हुनुहुन्छ । पार्टी सदस्य नै नरहेको व्यक्तिलाई आजको मितिसम्म केन्द्रले नहटाएर उहाँलाई नै पार्टी सभापति घोषणा गरिराखेको हुनाले हामीले पार्टी विधान लागू होस् भन्ने उद्देश्य लिएर हामीले आन्दोलन गरिराखेका छौं,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः प्रमाणित भ्रष्टाचारी सुरेन्द्रलाई कहिलेसम्म बोक्ने भन्दै नेतृत्वसँग कांग्रेस मधेशका कार्यकर्ता रुष्ट, देउवासँग भोलि कुरा राख्ने तयारी

अब आगामी चैत ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम रहेको पनि उनले बताए । सर्लाही कांग्रेस अहिले विधानअनुरुप नचलेको उनले बताए । भ्रटाचारी प्रमाणित भइसक्दा पनि पार्टी सभापति देउवा, महामन्त्रीद्वय थापा, शर्मा र अन्य नेताले सुरेन्द्रलाई नै काखी च्याप्नुको कारण आफूहरुले बुझ्नै नसकेको उनले बताए । ‘हामी चैत ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ । हाम्रो धर्नाको एउटै उद्देश्य छ– पार्टीको विधान लागू होस् भन्नेमात्रै हाम्रो धारणा हो । अहिले विधानअनुसार पार्टी चलेको छैन । हामीलाई त्यही लागिरहेको छ । सर्लाही जिल्लाका इमानदार आम कार्यकर्ताहरुलाई त्यो लागिरहेको छ,’– उनले भने ।