काठमाडौं, २५ फागुन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अदालतको आदेश उल्लङ्घन गरेको भन्दै मानव सेवा फाउन्डेसनले आपत्ति जनाएको छ । उच्च अदालत पोखराले कोटीहोम नरोक्न जारी गरेको आदेशको विरुद्धमा गत फागुन २३ गते विहान मेयर आचार्यले नगरप्रहरी पठाएको र भक्तजनहरुमाथि लाठी, हेलमेट र बुटसहित प्रहार भएको फाउन्डेसनको आरोप छ । फाउण्डेसनका अनुसार नगर प्रहरीहरुले पूजन स्थलमा हस्तक्षेप गरेर धार्मिक सामाग्रीहरु उठाएर लगेका थिए । उनीहरुले अपशब्द प्रयोग गरेको, महिलाहरूको गरगहना लुटेको र जबरजस्ती पूजन स्थलबाट कुर्सी र अन्य सामग्री लगेको फाउण्डेनको आरोप छ ।
नेपाल प्रहरीको आगमन पश्चात मात्रै नगर प्रहरी केही पछि हट्न बाध्य भएको र भूमि पूजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । ‘मेयरको निर्देशनमा वडा नं.२६ का अध्यक्ष नरेन्द्र थापा, वडा सदस्य तथा अन्य बाहिरबाट उनीहरुले बोलाएका व्यक्तिहरूले मास्क लगाई उपस्थित स्थानीय श्रद्धालु भक्तजन र फाउण्डेसनका कर्मचारीहरूमाथि लाठी तथा हेलमेट प्रहार गर्नुका साथै गाडी तोडफोड गर्ने, उपस्थित स्थानीय भक्तजनहरु कुटपिट गर्ने, महिलाहरूलाई लात्ताले हान्ने, कपाल तान्ने, सिक्री लुट्ने र अनेक दुर्व्यवहार, अराजक गतिविधिहरू गरेका थिए,’– फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ आयोजना नरोक्नु ÷नरोकाउनु भनि उच्च अदालत पोखराले दिएको आदेशको उल्लङ्घन गर्दै हजारौं सनातनी धर्मावलम्बीहरुमाथी पोखरा महानगर प्रहरीले गरेको अभ्रद व्यवहार र लाठीचार्ज प्रति फाउण्डेसन, नेपाल खेद प्रकट गरेको छ । फाउन्डेसनले धार्मिक तथा सामाजिक कार्यमा स्वयं महानगर प्रमुखको निर्देशनमा दण्डनीय रहेको र संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथि नै आघात पुर्याएको बताएको छ । साथै, दोषीहरूलाई कानुनी दायरामा ल्याउन फाउण्डेशनले आग्रह गरेको छ ।
‘पोखरा महानगर प्रमुख धार्मिक महानुष्ठान आयोजनामा किन यति भड्किनु परेको छ ? कतै यो सबै अन्तर्राष्ट्रिय शक्तिहरू लगायतका संस्थाहरूले नेपालमा नास्तिकता फैलाउन चलाएको रणनीतिक प्रभाव त होइन ? सनातन धर्म र संस्कृतिमाथिको आक्रमणलाई योजनाबद्ध रूपमा प्रश्रय दिने यस्ता कार्यहरू गम्भीर चिन्ताको विषय हुन्, जसको पर्दाफास हुनु आवश्यक छ । सँगसँगै फागुन २३ गतेको घट्नालाई निष्पक्ष रुपमा यथाशिघ्र छानबिन गरी दोषीलाई हदै सम्मको कारवाहीको माग गर्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।
साथै, श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ पूर्वनिर्धारित मिति, स्थान र समयमा यथावत् रूपमा सम्पन्न गरिने र यसलाई कुनै पनि हालतमा रोक्न नदिइने कुरामा फाउण्डेशन दृढ रहेको बताइएको छ ।




प्रतिक्रिया