ज्ञानेन्द्रले चकचक गरे, अब गाँस खोसिनसक्छः पूर्वमन्त्री पासवान


काठमाडौं, २५ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको गाँस खोसिनसक्ने टिप्पणी गरेका छन् । गणतन्त्रले दिएको सुविधा उपभोग गरेर देशमा बस्ने सुविधान पाएका पूर्व राजाले पछिल्लो समय चकचके गरेको उनले बताए । ‘गणतन्त्रवादीहरुले मनमनै राखेका कुरा बाहिर ल्याउँदै छन् । नयाँ तयारीका साथ एकीकृत भावना जोड्दै सार्वजनिक सभा गर्ने तयारी हुनसक्छ । ज्ञानेन्द्र शाह त्रासमा छन् । गाँस खोसिदेला भन्ने डरमा छन्,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री पासवानले भने ।

साथै, दरबार हत्याकाण्डको छानविनका लागि छुट्टै आयोग बन्नसक्ने सम्भावना बढेर गएको पनि उनको दाबी छ । उनले अब ज्ञानेन्द्रको नाममा हरेका दरबारको अवैध सम्पत्तिहरु राष्ट्रियकरण हुनसक्ने बताए । यस परिस्थितिमा ज्ञानेन्द्र र उनका परिवारको राहदानीसमेत रद्द हुनसक्ने उनको भनाइ छ । ‘राजतन्त्रको गन्धलाई बोकेर चिया पसलमा गफ गर्न पाएको लोकतन्त्र भएर हो । यो बुझ्न जरुरी छ । राजनीतिक दल खोल्ने अधिकार नेपाली जनतालाई छ । समर्थन या विरोध दुईटै गर्न पाइन्छ । तर, श्रीपेच जनताको नाममा राष्ट्रियकरण भइसक्यो,’– उनले भने । File Photo/RN