पोपको स्वास्थ्य स्थितिमा ‘सामान्य सुधार’


भ्याटिकन सिटी, २५ फागुन । निमोनियाको उपचारका लागि करिब तीन हप्तादेखि अस्पतालमा रहेका पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

भ्याटिकन स्रोतले पनि उनको स्वास्थ्यमा सुधार आएको सङ्केत गर्दै आइतबार राति अस्पतालमा शान्तरूपमा निदाएको जनाएको छ ।

फेब्रुअरी १४ देखि रोमको जेमेली अस्पतालको विशेष पोप सुइटमा रहेका क्रिश्चियन धर्मगुरूको स्वास्थ्य अवस्थाबारे भ्याटिकनले भनेको छ, “उहाँ राति शान्तसाथ निदाउनुभयो।”

क्याथोलिक चर्चका प्रमुख फ्रान्सिसलाई ब्रान्काइटिसका (लहरे खोकी) का कारण अस्पतालमा भर्ना भएदेखि नै धेरै पटक श्वासप्रश्वाससम्बन्धी जटिल समस्या देखिएको थियो ।

भ्याटिकनले गत हप्ता पनि उनको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताएको थियो । केही दिनदेखि उनलाई कुनै जटिल समस्या देखिएको छैन।

फ्रान्सिसको शरीरले उपचारमा राम्रो प्रतिक्रिया दिइरहेको र ‘क्रमिक र सामान्य सुधार’ भएको शनिबार बताइएको छ ।

फ्रान्सिसलाई ज्वरो नआएको र उनका चिकित्सकले रोगको निदान गर्नुअघि ‘आगामी दिनमा’ यस्तै सकारात्मक नतिजा हेर्न चाहेको शनिबार साँझको मेडिकल बुलेटिनमा उल्लेख छ।

फ्रान्सिसलाई सन् २०२१ मा आन्द्रा (बृहदान्त्र) को शल्यक्रिया र सन् २०२३ मा हर्नियाको शल्यक्रिया गरी उपचार गरिएको थियो । यो पटकको अस्पताल बसाइ फ्रान्सिसका लागि सबैभन्दा लामो र गम्भीर उपचारका लागि अस्पताल भर्ना भएको घटना हो ।

विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेता जेमेलीमा यसअघिको बसाइमा आफ्नो साप्ताहिक प्रार्थनाका क्रममा आइतबार बाल्कोनीमा देखिएको थियो ।

“उहाँले पछिल्ला तीन साप्ताहिक प्रार्थनामा भाग लिनुभएको छैन र यो आइतबार आफ्नो चौथो प्रार्थना सभामा सहभागिता नहुने सम्भावना देखिएको छ,” भ्याटिकनको प्रेस कार्यालयले शनिबार भनेको छ । एन्जेलसलाई अघिल्ला हप्ताहरूमा जस्तै ‘तरिकाले’ प्रार्थना गराइनेछ । अघिल्ला हप्ताहरूमा आइतबार मध्यान्नमा उनको एक पत्रमार्फत् प्राप्त सन्देशलाई भित्तामा टाँसेर पोपको प्रार्थनाको परम्परालाई निरन्तरता दिइएको थियो । रासस