सुदूरवासीलाई ओलीको आश्वासन- गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गर्छौं, तिर्न बाँकी साढे ९ लाख पनि सम्झिए !


काठमाडौं । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गर्ने आश्रवासन दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै उनले विश्वविद्यालय बन्नेमा ढुक्क हुन आग्रह गरे । “यो खुसीको कुरा हो” उनले भने, “नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।”

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा आफूले पनि पहल गरेको बताए । ओलीले विश्वविद्यालय स्थापनाका लागि संघर्ष हुँदा आफूले १० लाख दिने बचन दिएको तर, पूरा नभएको पनि सम्झिएका छन् । तत्काल उक्त रकम दिने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

‘मैले विश्वविद्यालय स्थापनाका लागि संघर्ष हुँदा १० लाख सहयोगको घोषणा गरेको थिएँ,’ उनले भने, ‘५० हजार सोही समयमा दिएको थिएँ । साढे ९ लाख अहिले पनि तिर्न बाँकी छ ।’

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको उनले बताए । त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुने बताए । सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी पनि उनले दिए ।

धनगडीमा अवस्थित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरउन्नती गर्ने वर्षैादेखि प्रयास हुँदै आइरहेको छ । यद्यपि उक्त प्रयासले सार्थकता पाउन सकेको छैन् । ठूला दलका हरेक शीर्ष नेताहरु सुदूरपश्चिम पुग्दा सुदूरका जनतालाई विश्वविद्यालय बनाउने आश्वासन दिँदै आएका छन् । तर,पूरा भने भएको छैन् ।