अबको विकल्प जनताबाट निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीसहितको नौलो गणतन्त्र होः प्रवक्ता डा. यादव (भिडिओसहित)


काठमाडौं, २६ फागुन । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले अब आफूहरुले भनेको नौलो गणतन्त्रको अभ्यासमा जानुको विकल्प नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री, विज्ञहरुबाट सानो आकारको मन्त्रिमण्डलसहितको नौलो गणतन्त्रमा जानुको विकल्प नरहेको बताएका हुन् । उनले अब देशमा राजतन्त्रको कुनै सम्भावना र भविष्य भने नरहेको बताए ।

‘हामीले जेठ १५ गते नौलो गणतन्त्रको अवधारणा ल्याएका छौं । यो देशमा व्यवस्था परिवर्तन भयो, ठूला पार्टीको कारणले गर्दा अवस्था परिवर्तन भएको छैन । नौलो गणतन्त्रमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु्पर्छ । जनताबाट निर्वाचित प्रधानमन्त्री, जनताबाट निर्वाचित मुख्यमन्त्री, संवैधानिक निकायका प्रमुखहरुको पनि निर्वाचनको कुरा गरेका छौं । सांसदहरु मन्त्री बन्नु भएन । विज्ञहरुबाट सानो आकारको मन्त्रिमण्डल बन्नुपर्छ । देशलाई स्थायित्व दिने हो भने सबैभन्दा राम्रो अभ्यास गणतन्त्रभित्र नै नौलो गणतन्त्रको हामीले सुरुवात गर्नुपर्छ,’– उनले भने ।

साथै, राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरु सडकमा आउनुलाई स्वभाविक मान्नुपर्ने उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई आफ्नो विचार व्यक्त गर्ने र आफ्नो कुरा राख्ने छुट दिएको भन्दै उनले यसलाई लोकतन्त्रको सुन्दर पक्षको संज्ञा दिए । ‘हरेक नागरिकलाई आफ्नो अधिकार खोज्न लोकतन्त्रले दिन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । जुन राजतन्त्रमा हुँदैन थियो, मान्छे बोल्न पनि डराउँथ्यो । केही गर्यो भने जेल जाने अवस्था थियो । पूर्वराजाले पनि आफ्नो कुरा राख्ने छुट छ । उहाँलाई राजनीति गर्ने पनि छुट छ,’– उनले भने ।