ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष, राजावादीको तमाशा हेरेरमात्रै नबस्ने चेतावनी


काठमाडौं, २६ फागुन । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) को सिंगो नेतृत्व पँक्ति पार्टीको एक महिने ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौंमा भेला भएका छन् । झापाबाट सुरु भएको अभियान रौतहट आईपुग्दा काठमाडौंमा राजावादीहरुको सलबलाहट देखिएपछि अध्यक्ष पुष्पकमल दाहालले नै गणतन्त्रमाथि धावा बोल्न थालिएको भन्दै सशक्त प्रतिकारमा उत्रिनुपर्ने निश्कर्ष सुनाएर अभियान स्थगन् गरेका थिए ।

उनीसहित सिंगो नेतृत्व पँक्ति सिमाराबाट काठमाडौं फर्किएको हो । काठमाडौं आएकै दिन प्रचण्डले पदाधिकारी बैठक राखेर वर्तमान राजनीतिको विषयमा समिक्षा गरेका थिए । माओवादीले राजावादीहरुको प्रदर्शनलाई गणतन्त्रमाथिको थ्रेट र बाहृय शक्तिको उक्साहट हुनसक्ने निश्कर्ष निकालेर सडकबाटै सशक्त प्रतिवाद गर्ने निश्कर्ष निकालेको छ ।

गणतन्त्र पक्षधरहरुसँगको सहकार्यमा तत्कालै सडकमा शक्ति प्रदर्शन गरिने माओवादीको तयारी छ । त्यसको लागि सुरुमा समाजवादी मोर्चाको बैठक बस्ने र मोर्चामा आवद्ध दलहरुको संयुक्त प्रदर्शन गरिने तयारी भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

समाजवादी मोर्चामा भएका दलहरुले बेग्लाबेग्लै प्रदर्शन गर्नुभन्दा एकीकृत प्रदर्शन गर्दा राम्रो सन्देश जाने माओवादीको बुझाई छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ । नेपाली जनताले आन्दोलनको बलबाट फ्याँकेको पात्रले फेरि सक्रियता देखाउनु र टाउको उठाउनु गणतन्त्रमाथिको खतरा भनेर प्रचण्डले निश्कर्ष निकालेका छन् । सडकमा राजावादीहरुको तमाशा हेरेरमात्रै बस्न नसकिने र सडकबाटै प्रतिवाद गरिने प्रचण्डको चेतावनी छ । file photo