नक्कली राजावादीहरुले भान्छा उज्यालो बनाउन गणतन्त्रको विरुद्धमा नारा लगाए: माओवादी नेता किराती


काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफ्नो भान्छा उज्यालो बनाउन नक्कली राजावादीहरुले गणतन्त्रको विरुद्धमा नारा लगाएको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले त्यस्ता नक्कली राजावादीको विश्वासमा ज्ञानेन्द्र शाह परेको खण्डमा फेरि अर्को दुर्घटना हुने बताए ।

उनले भने, ‘नक्कली राजतन्त्रवादीहरुले आफ्नो भान्सा उज्यालो बनाउनको निम्ति गणतन्त्रको विरुद्धमा नारा लगाइराखेका छन् । नक्कली राजतन्त्रको नारा लगाउनेमाथि नै ज्ञानेन्द्र शाहले विश्वास गरे भने अर्को दुर्घटना टारेर टर्दैनजस्तो मलाई लाग्छ,’– उनले भने ।

साथै, नेता किरातीले वीरेन्द्रको वंशनाशसँगै औपचारिक रुपमा राजतन्त्रको अन्त्य भएको बताए । उनले आफूले ज्ञानेन्द्रलाई राजा नै नमानेको समेत बताए । नेता किरातीले तत्कालीन राजनीतिक दलहरुको निरिहता र असक्षमताको कारणमात्रै ज्ञानेन्द्रले राजा बन्न पाएको उनले बताए ।

‘म त राजा भन्दिनँ । उहाँ ज्ञानेन्द्र शाह हो । औपचारिक रुपले विरेन्द्रको वंशनाश पछाडि नारायणहिटीमा राजतन्त्रको अन्त्य भएको हो । त्यतिखेरका दलहरुको निरिहता र पानीमरुवापनले गर्दा ज्ञानेन्द्र सिंहशानमा बस्न पाएको हो । म त राजा भन्दै भन्दिनँ, म त मान्दैमान्दिनँ । तर पनि साथीहरु राजा आउ देश बचाउ भन्छ, जसले आफ्नो परिवार बचाउन सकेन । अब नक्कली राजतन्त्र फर्काउँछु भन्ने यो हो कि हिजो पनि ज्ञानेन्द्र शाहलाई नक्कली राजतन्त्रवादीहरुले देशमा केही भएको छैन महाराज भनेर रिपोर्ट बक्साइरहँदा जनताले काठमाडौं घेरिसकेका थिए । त्यसपछि देशमा गणतन्त्रको स्थापना भयो,’– उनले भने ।