भारत बसाईमा मन्त्री राणाको उच्चस्तरीय भेटवार्ताको तयारी, एक हप्ताअघि नै सवारी


काठमाडौं, २६ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणाले यसपटक भारतमा उच्चस्तरीय भेटवार्ता गर्ने तयारी भएको छ । यसअघि भारत जाँदा भेटवार्ताको चाहना राख्दापनि भारतीय पक्षको सकारात्मक रेस्पोन्स नपाउँदा भेटवार्ता तय हुन सकेको थिएन । तर, यसपटक भने केही तयारीका साथा मन्त्री राणा नयाँ दिल्ली ओर्लिएकी छिन् ।

भारतको विदेश मन्त्रालयद्वारा आगामी मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरिने राइसिना डायलगमा भाग लिनको लागि मन्त्री राणा एक साताअघि नै आज नयाँ दिल्ली पुगेकी हुन् । कार्यक्रम सुरु हुनुभन्दा एक साताअघि नै उनी दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्मेलनमा भाग लिनुअघि उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजामा सरिक हुनेपनि जनाईएको छ । यसपटक मन्त्री राणाले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँग भेट गर्ने तय भैसकेको जनाईएको छ । आरजुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेटको लागि भारतीय पक्षले आवश्यक तयारी थालेको विशेष सूत्रले जनाएको छ ।

नेपालमा राजावादीहरुले व्यवस्था नै फाल्ने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाएर नारायणहिटी छिराउने उद्घोषका साथ सडक तताएको अवस्था छ । हिजोमात्रै पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किँदा हजारौंको संख्यामा उपस्थित् नेपाली जनताले स्वागत गरेका थिए । त्यसको भोलिपल्ट आज आरजुले दिल्ली यात्रा थालेकी हुन् ।