सिरहा, २६ फागुन । डिभिजन वन कार्यलयले दिगो वन व्यवस्थापन तथा संवद्र्धन प्रणाली सुदृढीकरणका लागि यहाँका छवटा सब–डिभिजन कार्यालय र १० सामुदायिक वनका गरी ३० कर्मचारीलाई तीनदिने तालिम दिन सुरु गरेको छ ।
आजदेखि सुरु भएको तालिमको डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले उद्घाटन गर्दै वनको अवस्था सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले भने, “सचेतापूर्वक वन क्षेत्रको उपभोग गर्न र भावी पुस्ताले पनि वनको उचित उपभोग गर्न पाउने अधिकार भएको हुँदा त्यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने दायित्व पनि हाम्रै पुस्ताको हो, त्यसैले वनको अवस्था अझ सुधार गर्न कसरी सकिन्छ भनेर विज्ञबाट प्रशिक्षण गराइएको हो ।”
तालिमको प्रशिक्षण वनविज्ञ कृष्णप्रसाद यादवले दिने जनाइएको छ । यसअघि गत माघमा पनि कार्यालयले वनसँग जोडिएका मुद्दा त्रुटिरहित बनाउन आफ्ना कर्मचारीलाई जिल्ला अदालतका न्यायाधीशबाट तीनदिने तालिम दिइएको जिल्ला डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । रासस




प्रतिक्रिया