वीर अस्पतालको निर्देशकमा डा शर्मा, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा.दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका छन् । उनी नेकपा एमालेनिकट हुन् । उनलाई निर्देशक बनाउन एमालेनिकट स्वास्थ्यकर्मीहरुले ठूलै लबिइङ गरेका थिए ।

वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

शर्मा स्वास्थ्य क्षेत्रमा विवादरहित । मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत उनले जिम्मेवारी बहन गरेका थिए । उनै शर्माको काधमा वीर अस्पताल सुधार गर्ने जिम्मेवारी परेको छ ।

यता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा। काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको गृह जिल्ला तनहुँका डा। काफ्ले बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको प्रस्तावमा उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बनेका हुन्।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कमल पन्थी, डा। कृष्णप्रसाद अधिकारी र डा। काफ्लेको नाम सिफारिस भएको थियो। पन्थी र अधिकारीलाई पछाडि पार्दै डा। काफ्लेले बीमा बोर्डको कार्यकारी निर्देशकमा बाजी मारेका हुन्।