हिन्दू राज्य र राजतन्त्रबारे शंकर पोख्रेल- भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भारतमा जस्तै नेपालमा पनि हिन्दु राज्य र राजतन्त्र फर्काउन संविधानले नै नदिने प्रष्ट पारेका छन् । राजावादी शक्तिहरु सलबलाईरहेको बेलामा आफ्नो धारणा राख्दै पोख्रेलले कसैले चाहँदैमा ती सबै कुराहरु पूरा नहुने बताएका छन् ।

धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ भन्दै पोख्रेलले कुनै बेला भारतमा राजालाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती रहेको स्मरण गराउँदै सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेको बताएका छन् ।

उनले भनेका छन् ‘व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए । कतिपयले अधिनस्थता अस्विकार गरेपछि बल प्रयोगवाट भारतमा विलय गरिएको थियो’ ।

महासचिव पोख्रेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दुराजको आवश्यकताको चर्चा गरिरहेको तर, संविधानले ती कुरा पूरा हुन नदिने बताएका छन् । उनले भनेका छन् ‘अहिले कतिपय भारतिय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको बताउँदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताईरहेका छन् । उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय सम्विधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र?’ ।