पार्टी खोल्नुअघि रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो, ज्ञानेन्द्रलाई भेट्न झापासम्म जानुभयो : मुकुल ढकाल


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र पूर्व राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलेको छ । रास्वपा स्थापना हुनुअघि नै रविले ज्ञानेन्द्रसँग भेटवार्ता गरेको रास्वपाबाट निस्कासित महामन्त्री डा मुकुल ढकालले खुलासा गरेका हुन् ।

पार्टी स्थापना हुनुअघि रवि राजालाई स्थान दिने पक्षमा रहेको मुकुलको दाबी छ । उनले भनेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ”राजतन्त्र” को लाइन लिने कि ”गणतन्त्र” को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ-चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो’ ।

पूर्व राजा ज्ञानेन्द्रबाट सकारात्मक जवाफ नआएपछि गणतन्त्रधारको पार्टी स्थापना गरिएको दाबी गरेका छन् उनले भनेका छन् ‘त्यतिबेला मैले रवि दाइलाई भने, “राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि ।” राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले “राजतन्त्र” लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – “राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक-एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।” राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछी, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।