काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुलाई चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिएका हुन् ।
‘नेपालको शान्ति प्रक्रिया मात्रै होईन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वाशनसमेत नतोकी तत्कालका लागि बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रममात्रै हुने छ । उदारतालाई कमजोरी ठानियो भने यो निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ,’– उनले भने ।
साथै, सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई स्पेस नदिएको र प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहेको भन्दै उनले आपत्ति जनाए । उनले प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड, संस्कारहीनता वा कुण्ठा के हो भन्दै प्रश्न गरे । साथै, उनले प्रतिपक्षी दलका नेता रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको पनि बताए । त्यसबाट जनआस्थामा परिरहेको प्रभावको मूल्याङ्कन गर्न उनले सरकारलाई सुझाव दिए ।




प्रतिक्रिया