काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले सदनमा आज विपक्षी दलका नेता र सत्ता पक्षका होनाहोर नेताहरुको सम्बोधन जनताको आवाज नभएर नेताहरुको गनगन र रोइलोमात्रै भएको टिप्पणी गरेका छन् । उनले विपक्षी दलका नेता प्रचण्ड र सत्ता पक्ष कांग्रेस र एमालेका नेताहरुको सम्बोधन आँफैप्रतिको अविश्वासको प्रतिकात्मक सन्देश भएको आरोप लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद यादवले सदनमा आजको उपस्थितिले नै संवेदनशीलता देखिएको टिप्पणी गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाह एयरपोर्टबाट आफ्नो घर जाँदाको दृश्य हेरेर राज्यसत्ता नै तर्सिनुपर्ने र सदनको पूरै समय खर्चिनुपरेको अवस्थाको आलोचना गरे । उनले सत्तामा बसेर राज्यको स्रोत दोहन गरेका दिन सम्झिन नेताहरुलाई सुझाए । उनले अहिले सत्ताको नाममा सबै संस्थाहरु कब्जा गरिएकोमा आपत्ति जनाए ।
दलका नेताहरु लिडर नभएर डिलर बनेको पनि उनको आरोप छ । पूर्वराजा शाहको पक्षमा जनसागर नै ओर्लिएको उनको भनाई छ । उनले प्रश्न गरे,‘अब सरकारले बेच्न के बाँकी रह्यो ? सिराहा जिल्ला नरहा गाउँपालिका वडा नम्बर ३ का एकजना भारतीय नागरिकलाई त्यहाँको वडाध्यक्षले नेपाली नागरिक बनाईकन नागरिकता बेच्ने काम गरेको छ । त्यो भनेको २०८० साल असार २६ गते । त्यहाँका नागरिकहरु यो नेपाली होईन, यो भारतीय हो भनेर सिडिओ अफिसमा निवेदन दिएका छन् । तर, त्यो सत्ताधारी भएकोले अहिलेसम्म कारबाही भएको छैन् ।यो सरकारले नागरिकता बेच्नेलाई पनि कारबाही गरेन भने अरु के गर्ला र ?”




प्रतिक्रिया