काठमाडौं, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले झण्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान गरेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाका सभापति लामिछानेमाथि त्यस्तो प्रकारको व्यवहार गरिएपनि सत्ता पक्षका नेता तथा सांसदहरुलाई भने उन्मुक्ति दिइएको बताएका हुन् । लामिछानेमाथि अपमानपूर्ण व्यवहार गरिँदा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका सांसद ऋषिकेश पोखरेल, कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलगायतलाई उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए । सरकारले सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै कानुन लागू गरेको उनको आरोप छ ।
‘सहकारी ठगी प्रकरणमा यसै संसद्का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई झण्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान, यातना दिने काम गरियो । त्यस्तै, अपराधमा मुछिएको नेपाली कांग्रेसका उपसभापति, नेकपा (एमाले) का सांसद्, उहाँको श्रीमती थुप्रै यस्ता व्यक्तिहरुलाई कारबाही भएन,’ उनले भने, ‘लुम्बिनी प्रदेशका सांसद, कोशी प्रदेशका मन्त्री, नेपाली कांग्रेसकै कोही सांसद बाँसबारी छालाजुत्ता कारखाना हडप्न सक्ने र कांग्रेस परिवारकै कोही छोरीले बालमन्दिरको जग्गा व्यापारिक संघ÷संस्थाहरुलाई सुम्पिने । यतिसम्म भयो, यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरुलाई मुद्दा नचल्ने देखियो । सत्ताभित्र एउटा कानुन, सत्ताबाहिर अर्को कानुन यस्तो अवस्था एकातिर भयो । अर्कोतर्फ अर्थतन्त्र ओरालो लागिरहँदा सकरार टुलुटुलु हेरिरह्यो ।’
सरकारले भ्यू–टावर, पानी जाहज, मन्त्री क्वार्टरजस्ता अनुत्पादक क्षेत्रमा खर्च गरेर राष्ट्रिय सम्पत्ति बर्वाद बनाएको उनको आरोप छ । विदेशी ऋण बढेको बढ्यै हुँदा पनि बुढी गण्डकी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रक्रियामा सरकारको ध्यान हुनै नसकेको उनको दाबी छ । एकातिर जनतामा सत्ताको पक्षमा विश्वास हराएर वितृष्णा फैलिएको उनले बताए । रोम जलिरहँदा रोमका तत्कालीन शासक निरो बाँसुरी बजाएर बसेझैं आज नेपालका शासकहरु त्यही अवस्थामा पुगेको बताए ।




प्रतिक्रिया