काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले संविधान, कानुन, नियम र नियमावलीले नचिन्ने राजतन्त्रको बारेमा कुराकानी गर्दा सभामुखबाटै स्पष्ट रुलिङ हुनुपर्ने माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले संसद्मा पूर्वराजा र राजतन्त्रको बारेमा कुरा उठाएको तर्फलक्षित गर्दै उनले यस्तो माग गरेका हुन् । उनले नेपालमा अहिले राजतन्त्र नरहेको बताउँदै लावण्य देशको राजा कि कहाँको ? भन्दै प्रश्न गरे । नेता थापाले अरुको बुई चढेर आउने कहिले पनि नेपाली जनताको शासक बन्न नसक्ने बताए ।
‘लावण्य देशको राजा हो कि कहाँको राजा हो ? नेपालमा राजा छैनन् । संविधान, कानुन, नियम र नियमावलीले नचिन्ने व्यवस्था, कुराकानीको बारेमा स्पष्ट रुलिङको व्यवस्था गर्न म माग गर्न चाहन्छु । अरुको बुई चढेर आउने नेपालको शासक हुन सक्दैन । अरुको बुई चढेर आउने नेपाली जनताले को हो भनेर हेरिराखेका छन् । नेपालमा पृथ्वीनारायण शाहले अघि बढाएको राजतन्त्र अरुको बुई चढेर आउने, विदेशीको भतुवा राजतन्त्र भएर आउन किमार्थ यो देशलाई स्वीकार्य छैन,’– उनले भने ।
उनले नेपालमा राणातन्त्र, पञ्चायती कालरात्रि र वंशीय प्रणालीको राजतन्त्र अब कहिल्यै नफर्किने बताए । राजतन्त्रलाई दाह्रा, नङ्ग्रा झिकेर किनारामा फालिइसकेको उनले बताए । नेता थापाले राजतन्त्र नेपाल र नेपालीको वर्तमान र भविष्य केही पनि नरहेको बताए । नारायणहिटी अहिले दरबार संग्राहलय बनेको स्मरण गराउँदै उनले त्यहाँ पुग्नेवित्तिकै राजा बनिन्छ भन्ने सोच त्याग्न आग्रह गरे । लुई सोह्रौं, जारशाहलगायतका राजा रजौटाहरुको दुःखद् अन्त्य भएको र ती कहिले पनि नफर्किको नेता थापाले बताए । उनले अब नेपालमा भविष्यमा संसारमा पाँच वटा राजा रहने, एउटा बेलायतमा र अन्य चार वटा तासमा मात्रै रहने उनको टिप्पणी छ ।




प्रतिक्रिया