पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनु स्वाभाविक हुँदैनः रामकुमारी झाँक्री


काठमाडौं, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनु स्वाभाविक नहुने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा राजसंस्था फर्किने र पूर्वराष्ट्रपति सकृय राजनीतिमा आउने कुरा स्वाभाविक मान्न नसकिने बताएकी हुन् ।

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्दैन जस्तो मलाई लाग्छ । राष्ट्रपति भइसकेपछि त्यहाँ भन्दा मान सम्मान हुँदैन । जसरी तत्कालीन राजाको हिसाले राजसंस्था फर्काएर आउन सम्भव छैन । त्यसैगरी सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष हुँदै फेरि सक्रिय राजनीतिमा आउन सम्भव छैन । आउनु स्वभाविक पनि होईन,’– उनले भनिन् ।

साथै, फरक प्रसंगमा उनले अहिले एकीकृत समाजवादी र नेकपा (एमाले) बीच एकताको सम्भावना नरहेको बताईन् । उनले आफू सबै वामपन्थी दलहरुबीच एकता हुनुपर्छ भन्ने मान्यतामा रहेको पनि बताईन् । अहिले आफू व्यक्तिगत निर्णय लिएर एमाले अथवा अरु कुनै दलमा नजाने पनि झाँक्रीले बताईन् । सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी कानुन ल्याउन लागेको बारेमा बोल्दै उनले भनिन्, ‘म व्यक्तिगत हिसाबले निर्णय गर्दिनँ । हाम्रो पार्टी विभाजन हुँदा अध्यादेशबाट भएको हो । राजनीतिक दलसम्बन्धी कानुन त आउँछ होला । तर, हामी तत्काल एमालेमा जाने हाइपोथेटिकल कुरा हो । अब हामी चैतको पहिलो हप्ताबाट जनतामा जाने छौं । त्यहाँबाट पार्टीको थप रणनीति बनाउँछौं ।’

साथै, सबैले सरकारको आलोचना गर्ने छुट पाउनुपर्ने उनको भनाइ छ । सरकारमा बसेकाहरुले आलोचना खेपेर त्यसको बीचबाट बेस्ट पर्फर्मेन्स दिन सक्नुपर्ने उनले बताएईन् । ‘सरकारले आलोचना खेप्नुपर्छ । बेस्ट पर्फर्मेन्स दिन सक्नुपर्छ । आलोचकहरु हुन्छन् त सरकारको । लोकतन्त्रको सुन्दरता यही नै हो । सहमति, असहमति दुवै राख्न पाइन्छ । यद्यपि विरोध र प्रसंशा सामाजिक मर्यादाभित्र रहनुपर्यो । हाम्रो सीमा र मर्यादाभित्रै बसेर विरोध र प्रतिस्पर्धा गर्न पाउने हाम्रो व्यवस्था हो,’– उनले भनिन् ।