काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.चन्दा कार्कीले आफूहरु राजतन्त्र वा राजसंस्थाको पक्षमा नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति आफूहरु प्रतिवद्ध रहेको बताएकी हुन् ।
रास्वपा सभापति रवि लामिछानेले दल खोल्नुअघि पूर्वराजा ज्ञानेन्द्रलाई भेटेकोलगायतका आरोपहरुको खण्डण गर्दै उनले भनिन्,‘हामी लोकतान्त्रिक गणतन्त्रलाई मानेर आएको हो, आजको संविधानलाई मानेर आएको हो र मानिरहेकै छौं । लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था हुनै सक्दैन । राजतन्त्र आज छैन, खोला धेरै बगिसक्यो । पूर्वराजा ज्ञानेन्द्र नागरिकको रुपमा देशमा बस्नु भएको छ । एउटा नागरिकले एक्सरसाइज गर्न पाउने सबै हकअधिकार उहाँले एक्सरसाइज गर्न पाउनुहुन्छ ।’
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सडकमा उत्रिएको भीडको बारेमा कुरा गर्दै उनले राजनीतिक दल र नेताहरुले सोच्ने बेला आएको बताईन् । संविधान समयको मागअनुसार संशोधन गरिनुपर्ने बताउँदै उनले राजसंस्था भने स्वीकार गर्न नसकिने बताईन् । ‘सडकमा जति जनता आए, ती पनि त नेपाली जनता नै हुन् नि । नेपाली जनताको राज्यप्रति असन्तुष्टि रहेछ । सरकार, राजनीतिक पार्टीहरुले सुधार गर्नुपर्ने कुरा रहेछ भनेर हामी फर्केर हेर्नुपर्छ,’– उनले भनिन् ।
नेतृ डा.कार्कीले अब राजनीतिक दलहरुले सत्य कुरालाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताईन् । राजसंस्था आज समयको माग नरहेको तर नेताहरुको अकर्मण्यताको परिणाम जनता सडकमा आएको उनको दाबी छ । ‘राजसंस्था समयको माग होईन । हाम्रो सरकारको अकर्मण्यताको परिणाम हो,’– उनले भनिन् ।
राजनीतिक दल र नेताहरुले काम गर्न नसक्दा राजावादीहरुले टाउको उठाउने ठाउँ पाएको उनले बताईन् । संविधान बनेको १० वर्ष भइसक्दा पनि संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐनजस्ता महत्वपूर्ण कानुनहरु ल्याउन नसकिएको उनले बताईन् । आफूले पनि काम गर्न नसकेको उनको स्वीकारोक्ति छ ।




प्रतिक्रिया