देश चौतर्फी रुपमा गम्भीर समस्यामा छ, यसको मूल कारण संविधान होः राजकिशोर यादव (भिडिओसहित)


काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले नेपाल चौतर्फी रुपमा गम्भीर समस्या फसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्रको अवस्थादेखि लिएर चौतर्फी रुपमा नेपाल समस्यामा फसेको बताएका हुन् । उनले राज्यका अंगहरु निष्कृय नै भइसकेको अवस्थामा रहेको, देशमा न्याय मरेको र जनताले आशा नै मारिसकेको स्थिति बनेको बताए ।

वर्तमान समस्याको मूल कारण संविधान रहेको उनको दाबी छ । आफूहरुले संविधान जारी हुँदाको बेलामा नै संविधानमा असन्तुष्टि रहेको कुरा जानकारी गराएको उनले बताए । सत्ता सञ्चालकहरु पनि दलालजस्तै बनेको उनको टिप्पणी छ । ‘संविधान समस्याको मूल कारण हो । हामीले २०७२ सालमै भनेका थियौं । छ महिना आन्दोलन गर्दा हामीमाथि बन्दुकका नालहरु, जनतालाई गोली मारेर जबरजस्ती अगाडि बढियो । अर्को चाहीँ संविधानलाई सञ्चालन गर्ने नेताहरुले स्वैच्छाचारी रुपमा सिन्डिकेट निर्माण गर्यो,’– उनले भने । File Photo/RN