आफूमाथि लगाइएका आरोप पुष्टि गरेर देखाउन सिके राउतलाई उपाध्यक्ष साहको चुनौति


काठमाडौं, २८ फागुन । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले पार्टीको अनुशासन विभागलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् । जनमतले उपाध्यक्ष साहलाई अनुशासनहीन काम गरेको आरोपमा ११ बुँदे स्पष्टीकरण सोधेको थियो । उपाध्यक्ष साहले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न र त्यसको प्रमाण दिन चुनौति दिएका छन् । आफूमाथि लगाइएका सबै आरोपहरु कपोलकल्पित र भ्रमपूर्ण रहेको दाबी उनले स्पष्टीकरणको जवाफमा उल्लेख गरेका छन् ।

उपाध्यक्ष साह र पार्टी अध्यक्ष डा.सिके राउतबीचमा नै खटपट रहेको र राउतकै जोडबलमा स्पष्टीकरण सोधिएको समेत गाइँगुइँ चल्दै आएको छ । उपाध्यक्ष साहले जवाफमा अध्यक्ष राउतलक्षित गर्दै आफूमाथि लगाइएका आरोपहरुको प्रमाण दिन भनेका छन् । उनले आफूमाथि विगत ६÷७ महिनादेखि षड्यन्त्र भइरहेको पनि खुलाएका छन् ।

अध्यक्ष राउतलाई बर्वाद बनाउन लागिपरेको समेत उनीमाथि आरोप लागेको थियो । पार्टीमा समय नदिएको, पार्टीका विभिन्न नियम र निर्णयहरु उल्लङ्घन गरेकोलगायतका आरोप उनीमाथि लगाइएको थियो ।