लुई चौधौं काटिएको इतिहास नबिर्सन राजावादीहरुलाई एकीकृत समाजवादीका नेता पराजुलीको चेतावनी


काठमाडौं, २९ फागुन । नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य सुदेश पराजुलीले वर्तमान सरकार लाचार हुँदा केही उद्दण्डहरु सडकमा आएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार सुतेर बसेकै कारण संविधानविरोधीहरु सल्बलाएको बताएका हुन् ।

‘यो सरकार लाचार भएर, यो सरकार सुतेर बसेको कारणले गर्दा उद्दण्डहरु, अराजकहरु, संविधानविरोधीहरु सडकमा उभिइरहेका छन्,’– उनले.भने ।

राजाको नाममा भ्रम फैलाइरहेकाहरुले अहिले जनता भाँडिरहेको उनले बताए । नेपालमा राजतन्त्र सदाको लागि अन्त्य भएको बताउँदै उनले अब राजतन्त्र पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको बताए । संविधानविरोधी गतिविधि हुँदै गएमा संविधानले नै पूर्वराजा ज्ञानेन्द्रलाई दण्ड प्रहार गर्ने उनले बताए । उनले लुईचौधौं काटिएको इतिहास नबिर्सन राजावादीहरुलाई चेतावनी दिए ।

‘उहाँले धेरै चुरिफुरी गर्नुभयो भने उहाँलाई कानुनी दण्ड प्रहार हुन्छ । नेपालको कानुनले यो व्यवस्थाविरुद्धमा बोल्नेलाई छुट दिँदैन । हिजो हामीले लुई चौधौं काटिए भनेर हामीले इतिहास पढ्थ्यौं । अब फेरि कसैले धङ्धङी पालेर जनताको व्यवस्थामाथि प्रतिशोध साँध्छ भने इतिहास साक्षी छ, हामीले इतिहास पढेका छौं । त्यो हविगतमा राजाका सुण्डमुसुण्डहरु समाप्त हुन्छन्,’– उनले भने ।