काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको कांग्रेस र एमालेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादीहरुको सक्रियता बढेको गम्भीर आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । सो क्रममा उनले ओली सरकार भ्रष्टाचारमात्रै केन्द्रित रहेको गम्भीर आरोप लगाए ।
उनले अहिले गणतान्त्रिक व्यवस्थाविरुद्ध चूनौति दिन खोजिएको भन्दै माओवादीले त्यसको सशक्त प्रतिकार गर्ने पनि चेतावनी दिए । प्रतिगामी शक्तिहरूको विरुद्ध सडकबाटै जवाफ दिनेगरि पार्टीले छलफल थालेको पनि उनको भनाई छ ।
उनले भने-“अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिले भन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामीले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्यो, राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’




प्रतिक्रिया