सरकार सिर्फ बिचौलियाको सेवामा छ, नेपालको अर्थतन्त्र ड्यामेज भयो : प्रभु साह


काठमाडौं, २९ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको अर्थतन्त्र ड्यामेज हुनुको प्रमुख कारण नै बिचौलिया भएको दाबी गरेका छन् । हिजो बसेको प्रतिनिधिसभाको ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ को विरुद्धमा दर्ता गरेका विरोधको सूचनाबारे प्रकाश पार्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले नेपाली जनता मूल्यवृद्धि र कालोबजारीको कारण हैरानीमा परेको पनि टिप्पणी गरेका छन् ।

साहले भने,”मूल्यवृद्धि र कालोबजारीले नेपाली जनता हैरानमा छन् । विचौलियाको बिगबिगी छ । विचौलियाकै कारण हाम्रो व्यवसायहरु धराशयी भइराखेका छन् । विचौलियाकै कारण नेपालको अर्थतन्त्र कमजोर भैरहेको कुरा हामीले हेरिरहेका छौं । अहिलेको प्रस्तुत विद्येयकमा भन्न त आर्थिक वातावरण बनाउने भनिएको छ, तर विचौलियालाई मोटाएर अनि उनीहरुको पक्षपोषण गरेर नेपालमा अािर्थक व्यवसायको वातावरण वृद्धि हुन्छ ? लगानी कसरी बढ्ने ? पुँजीगत खर्च कसरी बढ्ने ? स्वदेशमै रोजगारी सिर्जना ? हुने भन्ने कुरा कतै पनि हामीले देखेका छैनौं । व्यवसायीहरुको मर्का कतैपनि हामीले देखेका छैनौं । सिर्फ विचौलियाको सेवामात्रै हामीले हेरिरहेका छौं ।”

पूर्वमन्त्री साहले नेपालको बजार नै सिण्डिकेटमा परेको टिप्पणी गरे । सिमित व्यक्तिहरुको कब्जामा रहेको बजार भएको नेपालजस्तो देशमा मुनाफा छाडा (खुला) छोडिनु देशको अर्थतन्त्रलाई झनै चौपट पार्नु भएको साहको दाबी छ । उनले भने,”नेपालजस्तो सिण्डिकेट मार्केटमा खुला मुनाफा छोडियो भने के हुन्छ ? खुला बजारमा खुला मुनाफा त स्वभाविक होला । तर, जहाँ मार्केट नै सिण्डिकेट छ । निश्चित्हरुको घेरामा छ मार्केट, त्यो ठाउँमा मुनाफा असिमित गर्नु भनेको नेपालको समृद्धिलाई सहयोग गर्नुको साटो लुटलाई सहयोग गर्छ । अहिलेको सरकारले भन्नलाई त व्यवसायको वातावरण बनाउने र सुधार गर्ने भनेर लोकप्रिय र मिठो कुरा गर्छ तर व्यवहारमा हेर्नुहुन्छ भने त्यसलाई डुबाउने काम गरेको छ ।”

उनले बिचौलियाहरुको बिगबिगीले गर्दा नेपालमा व्यवसायको वातावरण नभएको पनि आरोप लगाए । उनले भने-“अहिलेपनि नेपालमा विदेशी लगानी बढ्नुको साटो घटिरहेको छ । किन व्यापार घाटा छ ? त्यो खस्किएको व्यापार उठाउने चिन्ता यो सरकारलाई छैन् । लगानी गर्नेहरु डुबिरहेका छन्, तर बिचौलियाहरु मालामाल भएका छन् । नेपालको मार्केट सिण्डिकेट छ । यो बजार सिमिति व्यक्तिहरुको मुठ्ठीमा छ । नेपालमा उत्पाद कमी भैरहेको छ । हाम्रा उद्योगहरु बन्द भैराखेका छन् । यो विद्येयक नेपालको आवश्यकत्ता हल गर्ने खालको छैन् ।”